काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीले आउँदो निर्वाचनका लागि समानुपातिक सदस्यको बन्दसूचीमा राखे पनि नुवाकोटबाट प्रत्यक्षमा चुनाव लड्न अझै दृढ गरेको बताउनुभएको छ ।
आफूलाई भेट्न पुगेका नुवाकोट क्षेत्र नं १ का कांग्रेस नेताहरुसँग बुधबार बिहान डा महतले प्रत्यक्षमै चुनाव लड्ने इच्छा रहेको प्रस्ट्याउनुभएको हो । 'मेरो अहिले पनि प्रत्येक्षमा चुनाव लड्ने दृढ इच्छा छ । पार्टी नेतृत्वलाई मैले यी कुराहरु सुस्पष्ट ढंगबाट राखिराखेको छु । म त्यो निर्णयको पर्खाइमा छु,' कार्यकर्ताहरुसँग डा महतले भन्नुभयो ।
उहाँले आफ्नो इच्छाले समानुपातिकतर्फ नाम नराखिएको बताउनुभयो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार महतका दाइ डा. रामशरण महतले २७ हजार ९२० मत ल्याउनुभयो ।
त्यतिखेर डा महतका दाइ पूर्वअर्थमन्त्री डा रामशरण महत १० हजार चानचुन मतले तामाङसँग पराजित हुनुभयो । यसपटक पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुँदा पूर्वमन्त्री तामाङले टिकट पाउने सम्भावना प्रबल छ । तामाङ पार्टीबाट एकल सिफारिस हुनुभएको छ । यद्यपि डा महतले पार्टीले १६ गतेसम्ममा सच्याउन मिल्ने भएकोले पनि आफ्नो नाम समानुपातिकमा गएको कार्यकर्तासामु बताउनुभयो ।
गठबन्धन हुँदा पहिले जितेको ठाउँमा पुरानै पार्टीले पाउने नीतिअनुसार माओवादीले दाबी गरिरहेको छ । तर, जीवनमा एकपटक पनि प्रत्यक्ष चुनाव नबेहोरेका डा महत गठबन्धनसहित गृहजिल्लाबाट चुनाव लड्न पाए सजिलै जित्ने दाउमा देखिनुहुन्छ । 'गठबन्धन गरेर चुनावमा जाने निर्णय पार्टीले गर्यो । कतिपय कुरा अनिर्णित भएकोले मेरो नाम समानुपातिकतर्फ गएको छ । मैले पार्टीका उच्च नेतृत्वसँग प्रत्येक्षमा लड्ने इच्छा हो भनेर राखेको छु । तर पनि त्यहाँ माओवादीले जितेको भन्ने दाबी गरेको छ,' महतले भन्नुभयो ।
पार्टीभित्र अरुलाई व्यवस्थापन गरेर नुवाकोट १ मा गठबन्धनको तर्फबाट आफू उम्मेदवार बन्न महत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नुभएको थियो । तर, प्रचण्डले जिल्ला पार्टी र सम्बन्धित क्षेत्रका नेता, कार्यकर्ताका कारण छोड्न नमिल्ने जवाफ दिइसक्नुभएको बुझिएको छ । बुधबार नेता महतलाई भेट्न लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठलगायत पुग्नुभएको थियो ।
नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा कांग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, कांग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २ सय ६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४ हजार ७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले जम्मा २ हजार २ सय ४५ मत प्राप्त गरेका थिए ।