नुवाकोट । पूर्वयुवा तथा खेलकुदमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले खेल क्षेत्रको विकास र खेलाडीको जीवन रक्षाका लागि सरकारले पर्याप्त लगानी गर्न नसकेको बताउनुभएको छ ।
नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्ला कमिटीले शनिबार जिल्लाको शिवपुरी गाउँपालिका ६ स्थित कालिकादेवी माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरेको ‘बडा दसैं महाभिडन्त’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद तामाङले उक्त धारणा राख्नुभएको हो । उहाँले खेल खेल्नका लागि आवश्यक पूर्वाधारबिना नै खेलाडीहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याती कमाइरहेको भन्नुहुँदै त्यसबाट प्रेरणा लिन सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई आग्रह पनि गर्नुभयो ।
नेपालमा जति पनि खेल विधाहरु छन् । यस क्षेत्रमा व्यावसायिक हिसाबले विकास गर्नको निमित्त र व्यावसायिक खेलाडीहरुको जीवनरक्षाका निमित्त नेपाल सरकारले जति लगानी गर्नु पर्ने थियो । लगानी अवश्य पनि गरेको छैन', उहाँले भन्नुभयो', खेलमा उपयोग हुने भौतिक पूर्वाधारहरुको समेत सरकारको तर्फबाट राम्रो व्यवस्थापन नहुँदा पनि खेलाडी र सम्बन्धित क्षेत्रका व्यक्तिहरुले आफ्नै व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गर्दै आइरहनुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परिचित जति पनि खेलाडीहरु यहाँ आउनुभयो र खेल प्रदर्शन गर्नुभयो । अरु खेलाडीहरुले प्रेरणाको रुपमा लिनुपर्दछ ।'
यस्तै नेकपा एमाले नुवाकोट अध्यक्ष एवं वाग्मती प्रदेश सांसद बद्रीप्रसाद मैनालीले समाजलाई अगाडि बढाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो ।
'स्रोत साधन हुँदा पनि नेपाली समाज विकास, सामाजिक रुपान्तरणको हिसाबले, सुशासनको हिसाबले पछाडि परिराखेको छ । समाजलाई अगाडि बढाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ',उहाँको भनाइ थियो ।
उहाँले अगाडि भन्नुभयो, दलहरुबीच चिसापना पैदा भएकोले यी चाठहरुले पार्टीभन्दा जनता ठूलो, जनताभन्दा देश ठूलो भन्ने सोच बनाएर अगाडि बढ्नुपर्छ। स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई त्यो खालको भावना, सोच विकास गराउन यी पर्वहरुले सहयोग गर्नेछ । समाजलाई एकढिक्कामा बाँधेर उन्नत समाजको रुपान्तरण आजको आवश्यकता हो ।' अतिथि वक्ताहरुले विजेता खेलाडीलाई बधाई तथा शुभकामना र दसैंलगायत पर्वको अवसरमा पनि शुभकामना व्यक्त गरेका थिए ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि संघीय सांसद हितबहादुर तामाङ, बद्री मैनालीलगायतले विजेताहरुलाई मेडल, प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै अतिथिहरु र गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियालगायतलाई पनि संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
हेभि वेट विधातर्फ नुवाकोटे टाइगर र किङ रोबर्टबीच भिडन्त भएको थियो । जसमा रोबर्ट विजेता बने । विजेतालाई एक लाख ५० हजार, ट्रिपल थ्रेट विजेतालाई ७५ हजार, ट्याग टिम विजेतालाई ८५ हजार, लाइटवेट (महिला) विजेतालाई ६५ हजार, लाइटवेट (पुरुष) विजेतालाई ५५ हजारसहित बेल्ट, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।