काठमाडौं । वाग्मती प्रदेशका सांसद राधिका तामाङले जातीय पोसाक लगाउनै डराउने जनप्रतिनिधिहरुले आफ्नो भाषा, संस्कार, संस्कृतिका विषयमा बहस गर्लान् भनी प्रश्न गर्नुभएको छ ।
नेपाल तामाङ महिला घेदुङको बधाई तथा सम्मान ग्रहणपछि शनिबार सम्बोधन गर्नुहुँदै सांसद तामाङले वाग्मती प्रदेशमा शपथग्रहण प्रसंगमा उक्त धारणा राख्नुभएको हो । 'तामाङ टोपी, तामाङ स्यामा (फरिया) लगाइसकेपछि कुजातै हुन्छ जस्तो कन्सेप्ट बोकिसकेपछाडि उसको भूमिका कस्तो रहन्छ ? उसले भाषाको विषयमा लड्छ ? संस्कृतिको विषयमा लड्छ ? पार्टीभित्र बहस उठाउँछ ? उठाउँदैन । किनभने ड्रेस लगाउँदा त यत्ति धेरै डराएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्न त धेरै तर्सिएको छ भने पार्टीभित्र बहस गर्छ जस्तो मलाई लाग्दैन,' उहाँको भनाइ थियो ।
उहाँले अगाडि भन्नुभयो, 'जुनसुकै पार्टीका नेवार होस्, १२ जनाले आफ्नो भाषामा शपथ खाए । बोल्न जानोस् कि नजानोस् । रेकर्ड राख्नकै लागि भने पनि उनीहरुले अगाडि बढ्छन् । हाम्रा तामाङहरु आँट गर्छ ?, गर्दैनन् ।' तामाङहरु चिन्तन र दृष्टिकोणका कारण पछाडि परिरहेको भन्नुहुँदै उहाँले कतिपय तामाङ भन्नसमेत नरुचाउने गरेको टिप्पणी गर्नुभयो । 'हामी खुम्चिँदै आएको हाम्रो चिन्तनमा खराब छ । दृष्टिकोणमा खराब छ । किनभने हामीले तामाङ हो भनेर चिनाउनै चाहिरहेको छैन । समग्र नेपाली रे । नेपाली हुनुमा त हामी गर्व गर्छौं । गर्छु म,' उहाँको भनाइ थियो, 'तर नेपालभित्र विभिन्न जात, धर्म, लिंग, भाषीहरु छन् । फूलबारीमा विभिन्न थरिका फूलफुल्दा जति सुन्दर देखिन्छ, यहाँ विभिन्न जातको पहिचान खुलाउन/खुल्दा सुन्दर हुन्छन् । पर्यटकलाई त्यत्तिक आकर्षण हुन्छ !'
तामाङ भाषामै शपथ लिन आफूले पहल गरे पनि माओवादीबाहेकका सांसदहरुले पार्टीको आदेश नभएको भन्दै इन्कार गरेको उहाँले दुखेसो पोख्नुभयो । 'मैले लोकतान्त्रिक अभियानमा सँगसँगै हिँडेका नेपाली कांग्रेस, नेकपा एमालेबाट निर्वाचित माननीयज्यूहरुलाई भनेँ तर उहाँहरुले 'पार्टीको आदेश छ, हामी गर्न सक्दैनौं' भन्नुभयो । मलाई दु:ख लाग्यो,' उहाँले उल्लेख गर्नुभयो, 'माओवादी पार्टीको आदेश थिएन । तिम्ले ड्रेस लगाउ । आफ्नो भाषामा शपथ गर । तर मलाई जननिर्वाचित प्रतिनिधिहरुले बनाएको संविधानले आदेश दिएको थियो । त्यो अधिकार र स्टेपमा टेकेर मैले तामाङ भाषामा शपथ लिएँ ।'
पूर्वराज्यमन्त्रीसमेत रहनुभएका तामाङले आफूले तामाङ भाषामा शपथ लिए पनि साझा जनप्रतिनिधि भएकोले सबैलाई न्याय दिलाउन पछि नपर्ने प्रस्ट्याउनुभयो । 'हुन त म सबै जनताका साझा प्रतिनिधि हुँ । टोपी, फरिया लाउँदैमा तामाङको मात्रै हुँदैन । तामाङ भाषामा शपथ खादा तामाङको मात्रै हुँदैन । जसरी यो भाषा (नेपाली भाषा)मा शपथ लिँदा सबैको हुन्छ भने म चाहिँ किन हुँदैन ? हुन्छु । सबैलाई न्याय दिलाउँछु,' उहाँको भनाइ थियो, 'ड्रेस लाउने उर्मिलाजी र म भयौं सायद । तर नेवारहरुको १२ जनाले शपथ आफ्नै भाषामा खाए । त्यसकारण यसमा पनि हाम्रा संघ, संस्थाले समीक्षा गर्न जरुरी छ ।'