काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिका–८, टेकानपुरमा निर्माण गरिएको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा उद्घाटनको तयारी थालिएको छ । आगामी चैत १७ गते हुने गुम्बा उद्घाटन समारोहको तयारीका लागि विभिन्न समिति गठन लगायत काम थालिएको हो ।
उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाका अध्यक्ष जगतमान लामा (दोङ)ले शनिबार थामडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा बसेको बैठकले उग्येन् पेज्यूङ डुब्देलिङ गुम्बा उद्घाटन मूल समारोह समिति बनाउनुका साथै मन्च सजावट तथा व्यवस्थापन, भान्सा व्यवस्थापन, अतिथि सत्कार, आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाइ, प्रचारप्रसार, स्वयम्सेवक उपसमिति निर्माण गरेको जानकारी दिनुभयो ।
देश, विदेशमा सहयोग संकलन गरी पत्रकार समेत रहनुभएका दोङको अगुवाइमा १ करोड २५ लाख रुपैयाँको हाराहारीमा गुम्बा निर्माण गरिएको हो । अहिले गुम्बा परिसरमा शौचालय निर्माण भइरहेको उहाँले बताउनुभयो । गुम्बा निर्माणस्थलको २ रोपनी १५ आना जग्गा दोङकै परिवारले दान गरेको हो ।
उहाँकी आमा च्याम्पु पाख्रिनको नाममा रहेको जग्गा यही माघ १७ गते मालपोत कार्यालय धुलिखेलबाट औपचारिक रुपमा गुम्बाको नाममा सारिएको छ । निर्माण चरण दोङको अध्यक्षतामा १७ सदस्यीय गुम्बा निर्माण समिति बनाएर २०७७ पुस २० गतेदेखि भवन निर्माण थालिएको थियो । गुम्बा निर्माणको सोच तीन दशक पहिलेदेखि नै बने पनि ०७७ पुसमा मात्र मूर्तरुप लिएको उहाँको भनाइ छ ।
गुम्बालाई यो रुप दिन दाइ कुमार दोङको ठूलो देन रहेको अभियन्ता दोङले सुनाउनुभयो । 'गुम्बा बनाउने कुरा दुई/तीन दशकदेखि नै उठेको हो । दाइले अमेरिकामा बस्दा खुत्रुकेमा जसरी क्वाइन जम्मा गर्न थाल्नुभएछ । तीन वर्ष जतिमा गत वर्ष ३ हजार डलर पुगेछ । त्यसपछि मलाई भन्नुभयो, गाउँमा गुम्बा बनाउने कुरा छ, बनाउने भए म गुम्बामा दिन्छु नत्र कतै पठाउँछु,' दाइको भनाइ भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, 'मैले अन्त हैन, गुम्बामा लगानी गरौं, म नेतृत्व लिन्छु भनेँ ।' कुमार दोङ र सिंहमान लामाकै पहिलो सहयोगबाट गुम्बा बनाउने काम सुरु गरिएको थियो ।
अमेरिकावासी दाइ सिंहमान लामाबाट ५ हजार डलर र कुमार दोङबाट ३ हजार डलर सहयोग प्राप्त भएपछि गत वर्ष जग खन्न सुरु गरिएको थियो । काठमाडौंबाट ७५ किलोमिटर दूरीमा रहेको तेमाल तामाङ जातिको आदिमथलो एवं ऐतिहासिक थातथलोको रुपमा परिचित छ । तेमालको गेलोङ ऊमा पद्मसंभव गुरु रिम्पोछेले तपस्या गर्नुभएको थियो ।
रिम्पोछेको मूर्ति रहने गुम्बा निर्माणले बौद्ध धर्म, दर्शन संस्कृतिको संरक्षण र प्रवर्द्धन हुने अभियन्ता दोङको विश्वास छ । त्यस्तै गुम्बासँग सरोकार रहेका स्थानीय बासिन्दाहरुको जीवनस्तर अभिवृद्धिका लागि सीपमूलक विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्ने र गुम्बालाई स्वाबलम्बी बनाउन सघाउ पुर्याउने, गुम्बालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न विभिन्न प्रवर्द्धनात्मक कार्य गर्ने उद्देश्य पनि आफूहरुको रहेको उहाँले बताउनुभयो ।