नेपाली कांग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका बारेमा कोठे बैठकहरु सुरु भएका छन् । पार्टीको मेरुदण्डको रुपमा लिइने भातृसंस्थाहरू नेतृत्व चयनको अभावमा प्राणहिन अवस्थामा पुग्दा पार्टी–संगठन भग्नावशेष वा खण्डहरमा परिणत हुन लागिसकेको छ । तर यसतर्फ कसैको चासो, चिन्ता, चिन्तन, बहस भएको पाइएन । पार्टीलाई जीवन्त कसरी बनाउन सकिन्छ भन्ने भन्दा पनि बिहान सबेरदेखि राति अबेरसम्म पद ! पद ! पद ! भन्ने एउटै जपना र रटनाले पार्टीको सुन्दर भविष्य समेत । कल्पनामा मात्र सीमित बनाइरहेको छ ।
सबै तहमा नयाँ नेतृत्व चयनसहित हुन लागेको महाधिवेशनमा नेता तथा कार्यकर्ताहरूको भूमिका के हुनुपर्थ्यो, के भइरहेको छ, सबैले सोचौं :
१. पार्टीको महाधिवेशन भनेको पार्टीको आधिकारिक दस्तावेजको रुपमा विकसित गरिएको सिद्धान्त, नीति, कार्यक्रम, पारित प्रस्ताव, लक्ष्य र संगठन तय गर्ने अनुष्ठान हो । आदर्श र संस्कारको नवीकरण गर्ने पर्व हो । देश र पार्टीलाई नयाँ उर्जा, गति, उत्साह र दिशा दिने योजना र रणनीति हो । त्यो तय भएपछि त्यसलाई सञ्चालन गर्न नेता चाहिने हो । यो पक्षलाई बिर्सेर कतै हामी हास्यास्पद हर्कतमा हिँडिरहेका त छैनौं ? के यतातिर हामीले ध्यान दिन सकेका छौं ?
२. अर्कातिर बिर्तावाल वा जमिन्दार वा मठाधीश शैलीमा पदमा टाँसिइरहने प्रवृत्ति पनि कम कुरीकुरी लाग्दो छैन । पार्टीका ओहोदाहरू व्यक्तिगत धाक–रवाफ र महत्व देखाउने, केही गर्न नसके पनि पद ओगट्ने ठाउँ होइन भन्ने सोच बिकसित नभएसम्म प्रतिस्पर्धीहरु कमजोर हुँदा मात्र हामी सफल हुने रहेछौं भन्ने प्रमाणित तथ्यलाई मनन गर्ने कि नगर्ने ?
३. लोकतन्त्रको लागि सात दशकभन्दा बढी समयदेखि लड्दै आएको नेपाली कांग्रेस जस्तो पार्टीमा नीतिगत, सैद्धान्तिक र कार्यनीतिक बहस र निष्कर्षका आधारमा नेतृत्वको चयन हुनुपर्छ, ताकि अन्य पार्टी र समुदायका लागि पनि उदाहरणीय र अनुकरणीय हुनपुगोस् । मुख हेरेर पद भाग लगाउने वा राजतन्त्र वा युवराजधिराज शैलीको राजनीतिक चहलपहलले प्रश्रय पाउन थाल्यो भने संघर्ष, योगदान र निष्ठा तथा समर्पणले उठेका साख र जनविश्वास बोकेका कार्यकर्ताहरूमा क्षोभ, उदेक र निरासा पैदा हुनसक्छ ।
४. पार्टी संगठनको आत्मा भन्नु नै अनुशासन हो । अनुशासनहिन पार्टीलाई जतिसुकै जनसमर्थन मिले पनि त्यसले केही गर्न सक्दैन, असफलमात्र हुन्छ । त्यसैले पार्टी अनुशासन सशक्त बनाउने नेतृत्व कांग्रेसलाई चाहिएको छ ।
५. निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन लागेका वा पार्टी हितविपरीत गर्ने जोसुकै भए पनि पार्टी–द्रोही हो । त्यस्ता उपर क्षमाशील नभई कडाईका साथ अनुशासनको कारबाही गर्नुपर्छ । पार्टीद्रोहीसँग मोलाहिजा गर्ने र साखुल्ले हुने नेतृत्वको दरकार छैन ।
६. नेपाली कांग्रेस एक केन्द्रीय समिति, ७ वटा प्रदेश समिति, ७७ जिल्ला समिति, ७५३ नगर/गाउँपालिकाहरू र वडा तहसम्म नै संगठन पुगेको पार्टी हो । यससँगै २८ वटा केन्द्रीय विभाग, १४ वटा भातृसंस्था, ३५ वटा विदेशका सम्पर्क समिति र १८ वटा शुभेच्छुक संस्थाहरू क्रियाशील रहेको ऐक्यबद्ध पार्टी हो । के यी विभाग, निकाय वा संस्थाहरू टीके–परिपाटीबाट मुक्त भएर बिना हस्तक्षेप अधिवेशन गर्न र आफ्नो नेतृत्व आफैं चयन गर्ने स्वतन्त्रता पाएका छन् ? व्यापक जनसमर्थन हुँदाहुँदै पनि भातृसंस्थाको अवस्था आज किन लथालिङ्ग र दयनीय अवस्थामा राखिएको छ ? जवाफदेहिता कतै भएजस्तो लाग्दैन । यसमा अनिवार्य आमूल सुधारको आवश्यकता छ ।
७. पार्टीमा प्रशिक्षण, अध्ययन, विचार–मन्थन, बहस र ज्ञान आर्जन एकदमै अभाव हुँदै गएको छ । यसलाई मेटाउन नियमित प्रशिक्षण र वैचारिक पुनर्जागरणको लागि विशेष कार्यक्रम नै लागू गर्नुपर्छ ।
८. तलदेखि माथिसम्म नै पार्टीमा नेता तथा कार्यकर्ताहरूको लागि आचारसंहिता कडाईका साथ लागु हुनुपर्छ । दुईवर्ष अघि लागू भएको आचारसंहिताबारे आज पार्टीका निकाय र हामीमध्ये कतिलाई हेक्का छ ? सो आचारसंहितामा यो पनि उल्लेख थियो, नेताले फजुल खर्च गर्न र कार्यकर्ताले पार्टी हितविपरीत बोल्न पाइँदैन ।
९. पार्टीमा योगदान गरेका निष्ठावान कार्यकर्ताको मूल्यांकन गर्ने र उनीहरूको रेकर्ड राख्ने अभिलेख पद्धति स्थापना गर्नुपर्छ । नयाँपुस्तालाई पार्टीमा आकर्षित गर्ने उपयोगी नीति, कार्यक्रम र क्रियाशील हुने, नेतृत्वले वातावरण निर्माण गर्नुपर्छ ।
१०. पार्टीका नाममा उठाइने चन्दा पार्टीका खातामा जम्मा हुने संयन्त्र र संस्थागत र सुसंगठित लेखा–प्रणाली कायम गर्नुपर्छ ।
११. कम्तीमा स्थानीय तह (नगर/गाउँपालिका) सम्म नै पार्टीको आफ्नै कार्यालय भवन निर्माणको लागि माथिल्लो नेतृत्वले प्रोत्साहित गर्नुपर्छ । पार्टीका अन्तर निकाय र अन्तरतह संवाद र सञ्चारको वैज्ञानिक व्यवस्था हुनुपर्छ । आधुनिक प्रविधिबाट हाम्रो पार्टी सुसज्जित बनाउन सक्ने नेतृत्वको आवश्यकता छ ।
१२. पार्टीका हरेक तहका नेतृत्वका दाबेदारहरुले आफ्नो कार्यकालमा आफू स्थापित हुन चाहेको संरचनामा पार्टीलाई आफ्नो कार्यकालमा कसरी अव्वल बनाउन सकिन्छ भन्ने कार्ययोजनासहित प्रस्तुत हुनु जरुरी छ । नेताको दौराको फेरो समातेर नेतृत्वमा स्थापित हुन चाहने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि कार्ययोजनासहित सबै तहका अधिवेशनमा छलफल गराएर पार्टीलाई स्थापित गर्ने इच्छाशक्तिसहितको कार्ययोजना प्रस्तुत गर्नेलाई सबै तहका मतदाताले चयन गर्न सक्ने अवस्था बन्यो भने त्यसबाट पार्टी संगठनले पुर्नजीवन पाउने निश्चित छ ।
१३. अब सधै एउटै तहको एउटै पदमा निरन्तर रहिरहने प्रवृत्तिलाई विधानबाटै अन्त्य गर्नु जरुरी छन् । एउटै व्यक्तिले सधैं नेतृत्व गरिरहने अवस्थाले पार्टीमा नयाँ विचार र नेतृत्व फष्टाउने अवस्था नबन्दा धेरै क्षमतावान र पार्टीलाई नयाँ जीवन दिनसक्नेहरु पार्टीबाटै पलायन हुन पुगेका कैयन उदाहरण छन् । तसर्थ महाधिवेशन कसलाई नेतृत्वमा स्थापित गराउने भन्दा पनि कस्तो नेतृत्वले पार्टीले जीवन्तता पाउँछ भन्ने सोचसहित सम्पन्न हुनु जरुरी छ ।
उपरोक्त आवश्यकताको कसीमा योग्य नेतृत्व निर्वाचित गर्न र देश, काल र परिस्थिति सांपेक्ष सबै समुदाय र पुस्तालाई सहज र मार्गदर्शन हुने सिद्धान्त, नीति, कार्यक्रम, कार्यनीति पारित गरी लागू गर्ने गतिशील नेतृत्वका लागि हामीलाई चौधौं महाधिवेशन चाहिएको हो । उपरोक्त कार्यभार बहन गर्ने नेतृत्व चयन गर्न हामी सबै तहका प्रतिनिधि वा सदस्यहरू सक्षम होऔं, सबैमा बीपी स्मृति दिवसको यही शुभकामना ।
उपरोक्त बुँदाहरू गर्नुपर्ने कार्यभारबारे तत्काल मेरा सोचाई र मान्यता हुन् । म यसमा साथीहरूको सहमति र एकता जुटाउन देशव्यापी अभियानको रुपमा लिएर जाने सोचमा छु ।
(लेखक कांग्रेस नुवाकोट जिल्ला कार्यसमिति सभापति हुनुहुन्छ)