काठमाडौं । विश्वका तामाङहरूको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्ले विवादास्पद भनाई बोल्ने अधिवक्ता भगवती पाण्डे र टेकुमा चरम दमन गर्ने दोषी प्रहरीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न सरकारसँग माग गरेको छ ।
एक टेलिभिजन अन्तरवार्ता कार्यक्रममा अधिवक्ता भगवती पाण्डे ‘शितल’ ले तामाङ र मगर जातिमा दाजु–बहिनीबीच विवाह हुने भएकाले आनुवांशिक रूपमै ति जातिहरू अपराधी हुन्छन् भनी दिएको आपत्तिजनक एवं जातीय घृणा र विद्वेष फैलाउने भ्रामक अभिव्यक्तिले नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
टेकु दमन अन्तर्राष्ट्रिय मानव अधिकारको न्यूनतम मूल्य मान्यता, नेपालको संविधान र प्रचलित कानुनको विरुद्ध भएको जनाएको छ । परिषद्का सदस्य संस्थाहरूले सम्बन्धित देश स्थिति नेपाल कूटनीतिक नियोगहरूमा ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि रहेको जनाएको छ ।
यदि सरकारले यस विषयलाई वेवास्ता गरेमा संयुक्त राष्ट्र संघ, आदिवासी अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरू र सरोकारवालाहरू समक्ष यस घटना सम्प्रेषण गर्ने र आवश्यक कारबाहीको निम्ति अनुरोधसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न परिषद् बाध्य हुने पनि महासचिव टासी लामा तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो अभिव्यक्तिविरुद्ध अन्तर्राष्ट्रिय तामाङ परिषद्को नेपालस्थित स्थायी सदस्य संस्था नेपाल तामाङ घेदुङले आरोपी पाण्डेलाई कानुन बमोजिम कारबाहीको माग गर्दै २०८० साउन १७ गते काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा शान्तिपूर्ण धर्ना आयोजना गरिएको थियो ।
धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जनभन्दा धेरै निहत्था आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगी मरणासन्न हुनेगरि कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।
‘ यतिमात्र नभइ महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूले जथाभावी चरम शारीरिक र मानसिक यातना दिइयो । यो अत्यन्तै दुखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरुद्ध समेत भएकाले प्रहरी दमनप्रति अन्तर्राष्ट्रिय तामाङ परिषदको गम्भीर ध्यानाकर्षण भएको छ । ’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमा ‘प्रहरीले चरम दमन गरेको उक्त घटनाबाट अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानुनको न्यूनतम मूल्य, मान्यता र नेपालको संविधान एवं प्रचलित कानुनले प्रत्याभूत गरेको शान्तिपूर्ण भेला गर्न पाउने हकसमेत निस्तेज पारेको छ । घटनामा संलग्न दोषीहरूमाथि तत्काल कानुनी कारबाही गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद् जोडदार माग गर्दछ ।’
कानुन उल्लङ्घनकर्ता पाण्डेलाई कानुनी कठघरामा ल्याउनुपर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी र नेपाल सरकारले उल्टै न्याय माग्न गएका पीडितहरूमाथि दमन गर्नु गलत भएको जनाएको छ । घाइते आन्दोलनकारीहरूको तत्काल प्रभावकारी उपचार गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत परिषद्ले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
प्रेस विज्ञप्ति