काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले जारी राष्ट्रिय जनगणनाबाट सही तथ्यांक आउनेमा शंका व्यक्त गर्नुभएको छ । सरकारले खटाएका गणक, कर्मचारीहरु अपरिपक्व र त्यसको अनुगमन गर्ने कुनै निकाय नभएको भन्नुहुँदै सही तथ्यांक संकलन हुनेमा उपसभामुख तामाङले आशंका गर्नुभएको हो ।
उपसभामुख तामाङले काठमाडौंमा विवरण संकलन गर्न आएका गणकहरुले आफूसँग आधारभूत विवरण नै नलिएको अनुभव सुनाउनुभयो । के-के प्रश्न सोधियो भन्ने ग्लोबल मिडियाको प्रश्नमा उपसभामुख तामाङले भन्नुभयो, 'म त काठमाडौंमा डेरामा बसेको छु, तर घर कुन जिल्ला भनेर पनि सोधिएन', उहाँले थप्नु भयो, 'कलेज पढ्दै गरेका भाइहरु गणक रहेछन्, विवरण संकलनमा भन्दा छिटो काम सकाएर रुममा जान हतार गरेको देखियो । ट्याबलेटमा भर्दा ढिला हुन्छ भनेर फोटोकपी गरेको कामचलाउ फर्ममा भरेर लगे, उता गएर के गर्लान् ?'
गणकहरुलाई विवरण संकलन गर्दा सबै प्रश्न सोधेर नागरिकको जवाफ जस्ताको तस्तै संकलन गर्न भनिएको छ तर गणकले आफूलाई नसोधी दोस्रो भाषामा आफैंले टिक लगाएको उपसभामुख तामाङले बताउनुभयो । त्यसो नगर्न सुझाव दिँदा उल्टै 'तपाईं राम्रो नेपाली बोल्नुहुँदोरहेछ, त्यही भएर दोस्रो भाषा नेपाली भाषा नै हो' भन्ने जवाफ दिएको भन्दै उपसभामुख तामाङले भन्नुभयो 'म गुरुङको छिमेकी, त्यहाँका तामाङले गुरुङ भाषा र गुरुङले तामाङ भाषा बोल्छन्,' उहाँले थप्नुभयो, 'म जत्तिको बोल्न सक्ने मान्छेले भन्दा त आनाकानी गर्नेले अरु राम्रोसँग बोल्न नसक्नेसँग कस्तो विवरण संकलन गर्ला ?'
अहिलेको तरिकाबाट सही तथ्यांक नआउने भन्दै उपसभामुख तामाङले अबको जनगणना स्थानीय सरकारमार्फत गरिनु पर्ने बताउनुभयो । 'देश संघीयतामा गइसक्यो, स्थानीय सरकार जनता सँगै छ, त्यहाँबाट वास्तविक विवरण संकलन गर्न सकिन्छ,' उहाँले भन्नुभयो, 'राज्यले ठूलो रकम खर्च गरेर हल्ला गरिराख्न जरुरी नै छैन । सूचना प्रविधिको युगमा स्थानीय सरकारले संकलन गरेको विवरण एकैदिनमा केन्द्रमा पुर्याउन सकिन्छ ।'
कात्तिक २५ गतेबाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ मंसिर ९ गते सम्पन्न हुने छ ।