भूतपूर्व गोर्खा सैनिक एवं तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रहादुर गुरुङ लामो समयदेखि समाजसेवामा तल्लिन हुनुहुन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) का सल्लाहकारसमेत रहनुभएका गुरुङले बेलायत-नेपालमा आपतविपतमा सहयोग गर्दै आउनुभएको छ । तमु समाज यूके र तमुधिं यूकेको उत्थानमा अतुलनीय योगदान दिनुभएका उहाँ आफ्नो समुदाय ब्रिटिस गोर्खाहरुको समस्या समाधानका आन्दोलन र मोर्चाहरुमा पनि आर्थिक, भौतिक र नैतिक तवरले लाग्ने गर्नुहुन्छ ।
हालै नेपाल भ्रमणमा रहनुभएका स्याङ्जा सिरुबारीका समाजसेवी तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष गुरुङसँग तमु ल्होछार, उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटवार्तालगायत विषयमा ग्लोबल मिडियाका लागि अञ्जु तामाङले गर्नुभएको कुराकानी :
गुरुङ समुदायको महान् पर्व तमु ल्होछार पनि नजिकिँदै छ, बेलायतमा कसरी मनाउने तयारी गर्दै हुनुहुन्छ ?
बेलायतमा नेपालीहरुको बसोबास भएको धेरै समय भएको छैन । हामी भूपू ब्रिटिस आर्मीका गोर्खाहरु सन् २००४ देखि बस्न पाएपछि अर्थात् आवासीय भिसा पाएपछि सबैभन्दा पहिला ‘तमुधिं’यूकेले बेलायतमा तमु ल्होछार मनाउन सुरु गरेको हो । यसलाई निरन्तर दिँदै गुरुङहरुको संस्था तमुधिं यूके, तमु प्य ल्हु संघ र तमु समाज यूके तीन वटा गुरुङहरुको समाज बेलायतमा अहिले सक्रिय छन् ।
तमु समाज यूके सन् २००७ मा तमुधिं लन्डन इकाईको नाममा मेरो सक्रियतामा स्थापना भएको हो । यो संस्था सन् २०१२ मा ‘तमुधिं’लन्डन इकाईबाट तमु समाज यूके नाम परिवर्तन गरेर बेलायतको ‘च्यारिटी कमिशन’मा दर्ता भएर सामाजिक क्षेत्रमा लागि परेको छ । हामीले ल्होछार सन् २००८ देखि निरन्तर रुपमा मनाइराखेका छौं । यो गुरुङहरुको मुख्य पर्व भएकोले सबैले भव्य रुपले जातीय भेषभुषा, जातीय नाचगान, ल्होछारको पूजा गरेर नेपालबाट कलाकार लगेरमनाउने चलन रहेको छ ।
यो वर्ष ‘तो’ल्होछार पनि ८ जनवरी २०२२ मा भव्य रुपले मनाउने तयारी गर्दैछौं । कोरोनाको कारणले गर्दा नेपालबाट कुनै पनि कलाकार लान सक्ने अवस्था छैन । तर भविष्यमा हरेक साल बेलायतमा कुनै न कुनै कलाकारलाई बोलाएर ल्होछार कार्यक्रममा सामेल गर्नेछौं । तमु समाज यूकेको हालका अध्यक्ष शिवकुमार गुरुङको नेतृत्वमा ‘तो ल्हो’ ल्होछार कार्यक्रम तयारी हुँदैछ ।
पछिल्ला कार्यक्रमहरुमा ‘तमु समाज यूके’र ‘तमुधिं यूके’बीच निकटता बढेको जस्तो देखिन्छ । सहकार्यमा यो वर्षको ल्होछार मनाउने सम्भावना छ कि ?
तमु समाज यूके र तमुधिं यूके पहिला एउटै संस्था थियो । सन् २०१२ देखि विभिन्न कारणले छुटिएको हो । पहिला सबै कामहरु मिलेर नै गरेका थियौं । तर अहिले ल्होछार हामी आ—आफ्नै ठाउँमा आफ्नै तरिकाले मनाउने तयारीमा छौं । अहिले संयुक्त रुपमा ल्होछार मनाउने तयारी भएको छैन । सायद भविष्यमा हुन सक्छ ।
लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा, संस्कृति संरक्षण र प्रवर्द्धनको लागि खटिरहनुभएको छ । यहाँको बुझाईमा यस्ता कार्यक्रमले नयाँ पुस्तामा प्रभाव परेको छ ?
बेलायतमै जन्मेका, पढिरहेका युवा पुस्ताहरुलाई संस्कार, संस्कृति, भाषा, भेषभुषाको बारेमा जानकारी गराउन अलि गाह्रो भइरहेको छ । नेपालमै जन्मेर ९, १० वर्षसम्म नेपालमै बसेका नानी, बाबुहरुले भने यो कुरामा चासो दिएको पाइन्छ । नेपालबाट गएका नानी, बाबुहरु हरेक कुरामा हामी सँगसँगै गरिरहेका छन् भने बेलायतमा जन्मेका नयाँ पुस्तालाई आकर्षित गर्न गाह्रो भइरहेको छ । यो हाम्रो लागि चुनौतीको विषय पनि हो । प्रवासमा रहेका हरेक नेपाली संस्थाका अविभावकको चिन्ताको विषय पनि हो । कसरी पुस्तान्तरण गर्ने भन्ने सवालमा पटक—पटक छलफल पनि हुँदै आएको छ । नयाँ पुस्तालाई आफ्नो संस्कार—संस्कृतिमा कसरी घुलमिल गराउने भन्ने विषय चुनौतीपूर्ण छ । तमु समाज यूके यो विषयमा छलफलको क्रममा छ ।
नेपालको बसाईको क्रममा यहाँले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेटवार्ता गर्नुभएको छ, के के विषयमा छलफल गर्नुभयो ?
उपराष्ट्रपतिज्यूसँग उहाँको विदेश विभाग सल्लाहकार जीवन गुरुङले मेरो अनुरोधमा भेट गराइदिनु भएको हो । भेटमा बेलायतमा रहेका भूपू ब्रिटिस गोर्खाहरु सन् १९९७ भन्दापहिला जो पेन्सनमा निक्लेका हामीहरुले ब्रिटिससरह पेन्सन पाएको अवस्था छैन । यो सवालमा छलफल हुँदै आएको झण्डै ३० वर्ष भइसक्यो । तर, सम्बोधन नभइरहेकोले यो विषयमा उपराष्ट्रपतिज्यूले पनि पहल गरिदिनुपर्यो भन्ने विषयहरु मैले राखेँ । उहाँले पनि डेलिगेसनहरु आइराखेको र यो विषयमा चासो लिएको जानकारी दिनुभयो ।
भिडियो
मेरो तर्फबाट दुईवटा कुरा राखेको छु । पहिलो, ब्रिटिससरह पेन्सन पाउनुपर्ने र दोस्रो, जुन भूपूहरुको पेन्सन आउँछ त्यो पेन्सनको फाइदा अहिले भारतले लिइरहेको छ । यसको मुख्य कारण के हो भने बेलायत सरकारले पाउन्डमा भारतमा हाम्रो पेन्सन पठाउँछ भने भारतले हामी (भूपू ब्रिटिस सैनिक)लाई आईसीमा दिने गरेको छ । जबकि नेपाल सरकारले पहल गर्ने हो भने त्यो पेन्सन नेपालमा आउँदा नेपाललाई पनि फाइदा हुन्छ । यो समस्याको नेपाल सरकारले अहिलेसम्म पनि हल गर्न सकेको छैन । दुःखको कुरा हरेक नेतालाई भेट्दा विषय जायज छ पहल गर्छौं भनेर आश्वासन बाँड्नु हुन्छ तर अहिलेसम्म कार्यान्वयन भएको छैन ।
केही समय पहिला हाम्रो भूपू ब्रिटिस गोर्खाहरु आमरण अनशन बसेपछि बेलायत सरकार र नेपाल सरकारले वार्ताबाट टुंग्याउने भन्नेमा पुगेको छ । तर अहिले बीचमा आएर सन्तोषजनक कुराहरु आएको नपाएपछि म एक जना भए पनि उपराष्ट्रपतिज्यूलाई भेटेर स्मरण गराउने जमर्को गरेको हुँ ।
तीन दशकदेखि उठाइरहनुभएको मुद्दा अबको दुई देशका सरकारबीच वार्ता भएमा हल होला जस्तो लाग्छ तपाईंलाई ?
आमरण अनशनको समयमा बेलायत सरकारका प्रतिनिधि र बेलायतमा भएको नेपाली राजदूतले यो अन्तिम चरणको वार्ता हो अब समस्या समाधान गर्छौं भन्दा धेरै आश लागेको थियो । तर अहिले अलि दोधार—दोधार जस्तो देखिएकोले पनि मैले उपराष्ट्रपतिज्यूलाई भेटेको हुँ ।
एकता नै बल हो भनिन्छ । तर बेलायतमा भूपू गोर्खा सम्बन्धित संगठन होस् या अन्य सामाजिक संस्था । टुटुफुटमै रमाइरहेको देखिन्छ । तमुधिं यूके र तमु सेवा समाज यूकेको पछिल्लो समयको निकटताले एकतामा जाने सम्भावना कत्तिको छ ?
संस्थागत रुपमा संवाद भइरहेको थिएन । झण्डै ९ वर्षपछि तमुधिं यूकेका वर्तमान अध्यक्ष हित काजी गुरुङले यसरी दुई वटा आफ्नै जातीय संस्थाबीच विवाद गरेर बस्नु हुँदैन भनेर तमु समाज यूकेलाई तमुधिं यूकेको कार्यक्रममा निमन्त्रणा गर्नुभयो । संस्थाको बीचमा आउजाउको वातारण बनाउन अध्यक्ष हित काजी गुरुङले ठूलो भूमिका खेल्नुभयो । यसमा म उहाँलाई धन्यवाद दिन चाहन्छु । संस्थाहरु आ—आफ्नो बाटो लाग्नुभन्दा एक भएर काम गर्नसकेको खण्डमा आटेको कामहरुमा ठूलो सहयोग हुन्छ । आश गरौं त्यो समय आउँला ।
समग्रमा बेलायतमा नेपालीहरुको अवस्था कस्तो पाउनुहुन्छ ?
बेलायतमा बसोबास गर्ने नेपालीहरुको अवस्था सबैको राम्रो छ । बेलायतजस्तो ठाउँमा हाम्रो लागि काम प्रशस्त छ । नयाँ पुस्ताले पनि अध्ययन गरेर राम्रो काम गरेका छन् । राजनीतिमा लाग्ने नेपालीहरु अहिलेसम्म काउन्सलर, मेयर बनिसक्नु भएको छ । बिजनेशमा लाग्नेहरु पनि धेरै सक्रिय भइसकेका छन् । अलिकति दुःखको कुराचाहिँ जुन हाम्रो सिनियर सिटिजन्सहरु हुनुहुन्थ्यो उहाँहरुलाई भने भाषाको समस्याले गर्दा थोरै समस्या देखिन्छ । अंग्रेजी बोल्न नसक्ने र बेलायत नेपालभन्दा धेरै चिसो भएको ठाउँ हुँदा उहाँहरुलाई हिँड्डुल गर्न समस्या छ तर आर्थिक हिसाबले राम्रो छ । सिनियर सिटिजन भए पनि सरकारले घर दिएको छ । पुग्ने गरेर खाने, बस्ने, भत्ता दिएको छ ।
एउटै मात्रा पक्ष मलाई के दुःख लाग्छ भने एनआरएनए यूके जहाँ अहिले म सल्लाहकार छु । यसमा म सन् २००५ देखि नै आबद्ध हुँदै आएको छु । यसमा कता-कता नेपालको राजनीति घुसेको हुँदा एनआरएनएमा उथलपुथल भएर नेपालीहरुलाई विभाजन गरेको, आर्थिक कारोबारमा हिनामिना भएको कुरामा एनआरएनए यूकेमा अलि बढी नै देखिन्छ यो सुधार गर्नुपर्ने एकदमै आवश्यक छ । किनभने हामी बेलायतमा छौं । एनआरएनए भनेको कुनै राजनीतिक संस्था होइन भन्ने मलाई लाग्छ । म यो विषयमा एकदमै विरोध गर्छु । किनभने केही मान्छेले गर्दा पुरै संस्था धमिलो बनाएको छ ।
आशा गरौं, अहिले नयाँ कार्यसमितिको अध्यक्षमा प्रेम गाहामगर हुनुहुन्छ । उहाँले यो आर्थिक कारोबारलाई शुद्धीकरण गर्छु भनेर लागिराख्नु भएको छ । उहाँको कार्यकालभित्र यो सुधार हुने छ । समग्रमा भन्नु पर्दा बेलायत गएका नेपालीहरु राम्रोसँग सामान्य जीवनस्तर गुजारी राख्नु भएको छ । म यो हिसाबले खुसी छु ।