मुटु मानव शरीरको एक महत्वपूर्ण अंग हो । अझ भनौं गर्भ बसेको ३ हप्तादेखि नै शिशुको मुटुले काम गर्न सुरु गरेको हुन्छ । जब मुटु धड्किन छोड्छ अनि मान्छेलाई मृत घोषणा गरिन्छ । तर दु:खको कुरा विशेषज्ञका अनुसार नेपालमा मुटु रोगीहरुको संख्या दैनिक बढ्दै गइरहेको छ ।
हाम्रो महत्वपूर्ण अंग मुटुलाई कसरी स्वास्थ राख्ने, कस्ता खालका समस्या बढी देखिएका छन्, समस्या आउन नदिन के के कुरामा ध्यान दिनुपर्छ लगायत विषयमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले जानकारी गराउनु भएको छ । डा. भट्टराई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगंजमा कार्यरत हुनुहुन्छ ।
मुटुको परिभाषा कसरी गर्नुहुन्छ ?
मुटु सबैभन्दा संवेदशील र महत्वपूर्ण अंग हो । जुन गर्भ रहेको ३ हप्तादेखि व्यक्तिको जीवनको अन्तिम समयसम्म रहिरहन्छ । मुटु धड्किँदासम्म मात्रै हाम्रो जीवन सम्भव छ । मुटुको धड्कन धड्किन छाडेपछि मान्छेलाई मृत घोषित गरिन्छ ।
सामान्यतया मुटु वयस्क व्यक्तिमा १ मिनेटमा ६० देखि ९० पटकसम्म धड्किनु पर्ने हुन्छ । भर्खर जन्मेको बच्चामा भने १ मिनेटमा १४० पटकसम्म धड्किँदा सामान्य मानिन्छ । र विस्तारै उमेर बढ्दै जाँदा मुटुको धड्कन कम हुँदै बिस्तारै वयस्क व्यक्तिसरह धड्किन थाल्दछ । ६० वर्षमाथिका वृद्धवृद्धाहरुमा भने मुटुको चाल कम हुने रोग लाग्नसक्छ ।
मुटुभित्र ४ वटा कोठा र ४ वटा भल्व, २ वटा ठूल्ठूला धमनीहरु, दायाँ र बायाँ गरेर ६ वटा जति नशाहरु छिरेको हुन्छ । मुटुको आफ्नै धड्कन पैदा गर्ने सिस्टम हुन्छ । जसले गर्दा मुटु तन्किले र खुम्चिने गर्दछ । बिजुलीको तार जस्तै सिस्टम हो, जसले गर्दा मुटुभित्र आफ्नै ब्याट्री हुन्छ र तारहरु फैलिएको हुन्छ ।
ब्याट्रीले करेन्ट निकालेपछि मुटुभरी करेन्ट प्रवाह भएर मुटु धड्किने हो । त्यसैले गर्दा मुटुलाई एकछिनको लागि शरीरबाट बाहिर निकालेर राख्दा पनि केही समय धड्किरहन्छ । मुटुको परिभाषा भन्नु पर्दा मुटु जटिल प्रकारको (अटोमेटिक) आफै चल्ने अंग हो । यीबाहेक मुटुमा आफ्नै किसिमका रक्तनलीहरु हुन्छन् । रक्तनलीहरुले मुटुलाई रगत सप्लाई गर्दछ । इलेक्ट्रिक सिस्टम, धड्कन पैदा गर्ने आफ्नै सिस्टम पनि हुन्छन् ।
अर्को कुरा के बुझ्न जरुरी छ भने जे जे पार्टहरु मुटुमा छन् ती सबैका आफ्ना–आफ्ना रोगहरु पनि हुन्छन् । मुटुलाई रक्तसंचार प्रवाह गर्ने नलीमा समस्या आएको खण्डमा हृदयघात (हार्ट अट्याक) हुन्छ । मुटुको इलेक्ट्रीसिटी पैदा गर्ने सिस्टममा समस्या आएको खण्डमा मुटुको चाल कम हुने समस्या हुन्छ । यस्तो अवस्थामा पेसमेकर राखेर उपचार गर्न सकिन्छ ।
मुटुभित्रको भल्वहरु खराब भयो भने नयाँ भल्व राख्नुपर्ने हुन्छ, जसलाई भल्क रिप्लेसमेन्ट भनिन्छ । साथै मुटुबाट निस्कने ठूल–ठूला नशाहरु फुल्ने फुट्ने विभिन्न किसिमका रोगहरु हुन्छन् ।
नेपालमा मुटु रोगको अवस्था कस्तो पाउनु भएको छ ?
नेपालमा जन्मजात मुटुरोग र अर्को जन्मेपछि मुटुको रोग देखा पर्न सक्छ । यसरी मुटु रोगलाई दुई भागमा विभागजन गर्न सकिन्छ । जन्मजात मुटुरोगका पनि धेरै किसिमहरु छन् भने वयस्कहरुमा मुटुका समस्या पनि उत्तिनै देखिन्छ । समग्रमा भन्नु पर्दा विभिन्न अध्ययन अनुसन्धानले जन्मजात मुटुरोग कुल जनसंख्याको १ प्रतिशतमा हुने देखाइरहेको छ भने हामीले नेपालमा पनि त्यस्तै पाउछौं ।
अहिले काठमाडौंको मुटुसम्बन्धी अस्पतालको आँकडा हेर्ने हो भने मुटुरोग लिएर आउँने मध्ये ४० देखि ४५ प्रतिशत नागरिकमा कालान्तरमा हृदयघात (हार्ड अट्याक) गराउन सक्ने (कोरोनरी आर्टरी डिजिज) देखिएको छ । यो नै मुटु रोगको पहिलो नम्बरमा पनि पर्दछ । विकसित देशमा बाथ मुटु रोग उन्मुलन भइसकेको अवस्था छ । नेपालमा पनि मुटुमा लाग्ने रोगमध्ये पहिलो नम्बरमा बाथ मुटु रोग थियो । तर अहिले कोरोनरी आर्टरी डिजिज १ नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा मुटुबाथ रोग देखिएको छ ।
तेस्रो नम्बरमा उच्च रक्तचापको बिरामीहरु देखिएका छन् । त्यसपछि जन्मजात देखिने मुटुरोग, मुटुको चाल गडबड हुने (जस्तै कसैको मुटुको चाल कम र कसैको बढी), मुटुको नसाहरु सुन्निने, मांसपेशीहरु कमजोर हुनेलगायत मुटुमा देखिने रोगहरु क्रमश: पर्छन् । संसारमा जे–जे मुटु रोग छन् ती सबै खाले मुटुरोग नेपालमा पनि पाइन्छ भन्दा फरक नपर्ला ।
स्वस्थ मुटुका लागि नागरिकले कस्ता कुरामा ध्यान दिनुपर्छ ?
गर्भ रहेको तेस्रो हप्तादेखि नै मुटुले एउटा अंगको रुपमा काम गर्न सुरु गर्ने भएकोले हामीले मुटुलाई स्वस्थ राख्न त्यही बेलादेखि नै सजकता अपनाउनुपर्छ । त्यो भनेको गर्भवती भएपछि आमाले अपनाउनुपर्ने सजकताहरु जस्तै ३५ वर्षभन्दा पहिला नै बच्चा जन्माएको खण्डमा केही मुटुरोगबाट बच्न सकिन्छ । साथै तपाईंको परिवारमा कसैलाई मुटुरोग छ अथवा कडा खालको मुटुरोग छ भने जन्मिने बच्चामा पनि देखा पर्न सक्छ । यस्ता रोग वंशाणुगत हुनसक्ने भएको हुँदा त्यस्तो परिवारका गर्भवती महिलाले बच्चाको मुटुमा समस्या छ, छैन भनेर गर्भमै हुँदा पनि भ्रुणको इको गरेर मुटुको धड्कन चाल बुझ्न सकिन्छ ।
भ्रूणको इकोबाट के पत्ता लाग्छ भने कडा खालको मुटुरोग भए नभएको जानकारी पाउन सकिन्छ । यदि गर्भको बच्चामा कडा खालको मुटुरोग छ, भोलि त्यस्तो समस्या भएको बच्चा जन्मेर पनि सामान्य बन्न सक्दैन भने नेपाल सरकारले कानुनमा पनि अभर्सन गर्न मिल्ने मान्यता दिएको छ । त्यसैले भ्रूणको इको गर्दा समस्या भए/नभएको थाहा पाउन सकिन्छ ।
यो सँगै स्वस्थ मुटुको लागि गर्भवती आमाले सन्तुलित भोजन सेवन गर्ने, मद्यपान–धुम्रपान नगर्ने, मुटु, सुगरको औषधि सेवन गरिहरनुभएका दीर्घरोगी महिलामा गर्भरहन गएको खण्डमा चिकित्सकको सल्लाहमा बच्चालाई असर गर्न सक्ने औषधिहरु घटाएर अरु औषधि सेवन गर्नेजस्ता कुरामा सजकता अपनाउने हो भने केही मुटुरोगबाट बच्न सकिन्छ ।
गर्भवती आमाले ठूलो इन्फेक्सनबाट जोगिने कडा खालका एन्टिबायोटीक सेवन नगर्ने, नियमित भिटामिनको सेवन गर्ने लगायतका कुरालाई ध्यान दिँदा स्वस्थ बच्चा जन्माउन सकिन्छ ।
बाथ मुटुरोगबाट जोगिन के गर्नु पर्छ ?
बाथ मुटुरोग टन्सिलबाट सुरु हुन्छ । जस्तै धेरै रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो एक वर्षमा धेरै पटक आउने, हाछिँउ धेरै हुने जहिले पनि टन्सिल भइराख्ने व्यक्तिले भने बाथ मुटुरोग हो कि होइन भनेर समयमा पत्ता लगाउन जरुरी छ ।
समयमा रोगको पहिचान गरेर उपचार गर्न सकेको खण्डमा पछि हुने कडा खालका मुटुरोगबाट जोगिन सकिन्छ । मुटु बाथ रोग ५ देखि १५ वर्षको बालबालिकामा बढी देखिन्छ । यदि समस्या देखिएको खण्डमा घाँटीको श्वाव, रगतको जाँच, मुटुको जाँच पछि बाथ मुटु रोग लाग्दैछ अथवा रोग सुरुवातको अवस्थामा छ भने औषधिको माध्ययमबाट रोगलाई कम गर्न सकिन्छ ।
विस्तारै उमेर बढ्दै जाँदा कालान्तारमा हृददयघात गराउने कोरोनरी आर्टरी डिजिज हुने सम्भावना हुन्छ । यो रोगबाट जोगिनका लागि तपाईंको परिवारका कुनै सदस्यमा कर्नरी हार्ट डिजिज, बाथ मुटु रोग, हृदयघात भएको, मुटुको अप्रेशन गरेका छन्, छैन यो बारेमा बुझ्न जरुरी छ । यदि परिवारको अन्य सदस्यमा पनि यस्ता समस्या छन् भने त्यस्तो परिवारका सदस्यले ३० वर्ष पुगेपछि सुगर, कोलेस्टोलको मात्रा सामान्य राख्ने, शरीरको तौल कम गर्ने र वर्षमा एक पटक ईसीजी र इको गर्दा धेरै कडा खाल्का मुटुरोगबाट जोगिन सकिन्छ ।
माथि उल्लेखित कुरालाई ध्यान दिनसकेको खण्डमा ४० वर्षमा हृदयघात हुने सम्भावना छ भने २० वर्ष पर अर्थात् ६० वर्षमा सार्न सकिन्छ ।
आम नागरिकको जीवनशैलीमा आएको र्यापिड चेन्जले पनि मुटु रोग बढ्दै गएको देखिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खानपानमा आएको परिवर्तनलाई मान्न सकिन्छ । पहिलाको कुरा गर्ने हो भने धेरै नेपाली साकाहारी खाना खान्थे तर अहिले दैनिक नै मासु खाइरहेका हुन्छौं । यस्तो खाना खाँदा दैनिक व्यायाम जरुरी हुन्छ त्यो पनि भएको खासै पाउँदैनौं जसले गर्दा मुटुमा रोग थपिने सम्भावना हुन्छ ।
हाम्रो दैनिक खानपानमा क्यालोरी डाईट, फ्याट, मिटको आईटम धेरै बढेको छ । त्यो अनुसारको शारीरिक एक्सरसाईज गर्दा मुटुमा लाग्ने रोगसँगै अन्य रोगबाट पनि बच्न सकिन्छ । हिँडेर सम्भव हुने ठाउँमा सवारी साधन प्रयोग नगर्दा नै स्वास्थ्यको लागि राम्रो हुन्छ । हाम्रो जीवनयापन अनुसारको शारीरिक व्यायमलाई प्राथमिकता दिने हो भने मुटुमा आउने थप समस्याबाट बच्न सकिन्छ ।
शारीरिक व्यायाम भनेको दिनमा सकिन्छ भने एक घण्टा सकिँदैन भने आधा घण्टा बेस्सरी पसिना आउने गरी र मुटुको धड्कन धकधक आवाज आउने गरी एक्सरसाईज नियमित गर्नेगर्नुस् । स्वस्थ खानपानमा ध्यान दिने, शरीरमा क्लोलेस्टोलको लेभल, सुगरको मात्रा, शरीरको तौल कम गर्नुस्, चिन्तारहित जीवन जिउन सकेको खण्डमा धेरै मुटुरोगबाट बच्न सकिन्छ । समयमा सुत्ने ,समयमा उठ्ने, धुम्रपान–मध्यपान नगर्ने माथि उल्लेखित कुराहरु ध्यान दिन सकेको खण्डमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ अथवा केही हदसम्म रोगलाई कम गर्न सकिन्छ ।