काठमाडौं । आँखा हाम्रो शरीरको महत्वपूर्ण अंग । आँखाबिना संसार देख्न सम्भव छैन । झन् बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरुमा भएको समस्या बोल्न नसक्ने अवस्थासम्म हरेक कुरामा अविभावकले ध्यान दिनुपर्ने हुन्छ । ७ देखि १२ वर्षको उमेरसम्म बालबालिकाको आँखाको समस्या उपचार गर्न सकेको खण्डमा अति उत्तम हुने आँखा विज्ञहरुको भनाइ छ । तर, समयमा ध्यान नदिँदा बालबालिकाको आँखामा आउने समस्याबारे वरिष्ठ आँखा विशेषज्ञ डाक्टर वेन लिम्बु ।
बालबालिकाको आँखामा आउने समस्याहरु के के हुन् ?
बालबालिकाको आँखामा जन्मजात देखिने समस्याहरुमध्ये प्रमुख आँखा नदेख्ने समस्या ल्याउन सक्ने रोगहरु हुन्छन् । जन्मजात मोती बिन्दु, भिटामिन ‘ए’ को कमीले प्रशस्त मात्रामा बालबालिकाको आँखामा आँखा नदेख्ने समस्या भएको पाइन्छ । आजभोलि समय नपुगी जन्मेको यात कम तौल भएका बालबालिकाहरुमा आँखा नदेख्ने समस्या आउने समस्याहरु धेरै रहेका छन् । साथै बालबालिकामा आँखाको क्यान्सर, कुनै बालबालिकाको सानै उमेरदेखि चस्मा लगाउनु पर्ने समस्या पनि हुन्छन् । तर समयमा चस्मा प्रयोग नगर्दा आँखामा अल्छीपन आउनेलगायत बालबालिकाको आँखामा देखिने प्रमुख रोगहरु हुन् । बालबालिकाको आँखाको उपचारमा चुनौतीका साथ हामीले हेर्नुपर्ने र आँखा नदेख्ने समस्या बनाउन सक्ने यी रोगहरु हुन् ।
बालबालिकासँगै रहिरहने अविभावक भएको खण्डमा उसको समस्याबारे थाह पाउन सक्छन् तर गाउँघरमा काममा व्यस्त हुने अभिभावकले भने समस्या पत्ता लगाउन सक्दैनन् । पछि समस्या बढ्दै जाँदा आँखा नदेख्ने समस्या हुने अथवा भइसकेपछि अस्पताल आउनेको संख्या पनि धेरै छ । बच्चालाई अविभावकले नियालेर नहेर्ने हो भने धेरै वटा रोग आँखा नदेख्ने समस्या भएपछि मात्रै थाहा हुन्छ । अविभावकले पछि बालबालिकाको समस्याबारेमा थाह पाउनु हुन्छ जुन समयमा उपचार सम्भव हुँदैन अर्थात् उपचारनै लाग्दैन ।
मोती बिन्दुको अप्रेसन ठूलो मान्छेको जहिले गर्दा पनि हुन्छ, २–५ वर्षमा तर बालबालिकाको हकमा भने यो कुरा लागू हुँदैन । थाहा पाउनेवित्तिकै उपचार गरेको खण्डमा मात्रै बालबालिकाको आँखाको मोती बिन्दुको उपचार हुन्छ नत्र उपचार लाग्दैन । सकेसम्म आँखाको समस्या अथवा मोती बिन्दुको अप्रेशन ७ वर्ष भित्रमा गरिसक्दा राम्रो हुन्छ । तर एउटा आँखामा मात्रै मोती बिन्दु छ भने समस्या पत्ता लागेलगत्तै उपचार नभएको खण्डमा अप्रेशनपछि पनि उपचार लाग्दैन ।
उमेरभन्दा पनि बालबालिकाको आँखाको उपचारको कुरा गर्नुपर्दा देख्ने अथवा थाहा पाउनेबित्तिकै जति सक्दो छिटो उपचार गर्दा राम्रो हुन्छ । तर नेपालको सन्दर्भमा अविभावकले बालबालिकालाई राम्रोसँग ननियाल्दा या त आँखामा समस्या देखेपछि पनि अज्ञानताको हिसाबले सामान्य सोच्ने हुँदा समयमा अस्पताल नलाने, धेरै ढिला भएपछि अस्पताल ल्याउने र उपचारै नलाग्ने मोती बिन्दुका धेरै उदाहरणहरु छन् ।
बालबालिकाका आँखामा समस्या भए/नभएको कसरी थाहा पाउने ?
अविभावकले बालबालिकाले आँखा देख्ने/नदेख्ने धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । जस्तै अभिभावकले पालैपालोसँग बालबालिकाको एउटा आँखा बन्द गर्ने अर्को आँखा खोल्ने गर्नु पर्छ । आँखा नदेख्ने समस्या छैन भने बालबालिकाले झगडा गर्दैन । यस्तो बेलामा आँखा देख्छ भन्ने बुझ्नु पर्छ । तर एउटा आँखा छोप्दा अर्को आँखाले देखेन भने त्यस्ता बालबालिकाले आँखा बन्द गर्दा झगडा गर्ने र हात छिटो–छिटो फाल्दिने, निकाल्ने र बल गर्न थाल्दछ । यस्तो प्रतिक्रिया जनाएको खण्डमा भने चै समस्या छ कि भनेर शंका गर्ने र समयमा चिकित्सकलाई देखाउँदा समस्या भए/नभएको पत्ता लगाउन सकिन्छ ।
बालबालिकाको आँखा परीक्षण कत्तिको जरुरी छ ?
बालबालिका जन्मेको ६ महिनाभित्र एक पटक आँखाका चिकित्सकलाई देखाउनु एकदमै राम्रो हुन्छ । कतिपय रोगहरु बाहिरबाट नदेखिने भएकोले ७ वर्षदेखि १२ वर्षको उमेरसम्म वर्षमा एक पटक बालबालिकाको आँखा परीक्षण गर्नुभयो भने राम्रो हुन्छ । काठमाडौंमा भएको आँखा अस्पतालले नेपालभरको आँखा रोग उपचारको नेतृत्व पक्कै पनि गर्न सक्दैन । काठमाडौंका २५ देखि ३० प्रतिशत अभिभावकले आफै चनाखो भएर आफ्ना बालबालिकाको आँखामा समस्या भए/नभएको परीक्षण गर्न लिएर आउनु हुन्छ । बाँकी ६० देखि ७० प्रतिशत अभिभावक भने बालबालिकाको आँखा परीक्षण र नियमित जाँच गर्नुपर्छ भन्ने बारेमा अनविज्ञ नै छन् । काठमाडौं सहरमा पनि उहाँहरु आउनु भएको पाइँदैन ।
बालबालिकाको आँखामा आउने समस्याबारे समुदायमा गएर हेर्ने हो भने अझ भयावह होला जस्तो लाग्छ । मेरो विचारमा समुदायका ८० देखि ९० प्रतिशत बालबालिका आँखा परीक्षणबाट बञ्चित होलान् या त अविभावकलाई जानकारी नहोला । अहिले पनि बालबालिकाको आँखा जाँच्नु पर्छ र ! भन्ने प्रश्न गर्नुहुन्छ । अस्पतालमा आउन चस्मा लगाउने कुरा गर्यौ भने बच्चाले पनि चस्मा लगाउछन् र ! भन्ने किसिमका अन्धविश्वास अझै पनि समुदायमा पाइन्छ । जसले गर्दा बालबालिकाको आँखामा आउने समस्या अथवा मोती बिन्दुबाट बचाउन अभिभावकमा अझै पनि जनचेतनाको कमी छ । महिना नपुगी जन्मेको, तौल कम भएको बालबालिकाको आँखाको पर्दा बिग्रेर (रेटिनोप्याथी अफ प्रिम्याच्यूरीटी) का कारण सधैंका लागि आँखा नदेख्ने समस्या हुनुपर्ने अवस्था पनि आउन सक्छ ।
तौल कम भएका, समय नपुगी जन्मेको बालबालिकाको समयमा रोग पहिचान गरेर उपचार गर्न सकेको खण्डमा आँखा नदेख्ने समस्याबाट बचाउन सक्छौं । यस्ता बालबालिकालाई अविभावकले समयमा अस्पताल ल्याउनु पर्छ तर हाम्रो समुदायमा अज्ञानताको कारण अस्पताल आइरहनु भएको छैन ।
बालबालिकाको आँखा स्वस्थ राख्न कस्ता कुरामा ध्यान दिने ?
बालबालिकामा आँखाको क्यान्सर, जन्मजात दृष्टिदोष (आँखा कमजोर हुने), आँखा अल्छी हुने दुबै आँखाको पावर बराबर नहुने । अल्छी आँखा हुँदा पनि बालबालिकाले आँखा नदेख्ने धेरै समस्याहरु हुन्छन् । आँखाको इन्फेक्सन र भिटामिन ‘ए’को कमीले पनि बालबालिकाको आँखामा समस्या ल्याउन सक्छ ।
बालबालिकाको आँखा स्वस्थ राख्नको लागि गर्भरहँदा देखिको कुरा आउँछ । गर्भवतीले पौष्टिक आहार सेवन गर्ने, मद्यपान–धुमपान नगर्ने, गर्भ रहेको समयमा आमालाई कुनै किसिमको स्वास्थ्य समस्या आएको खण्डमा जथाभावी औषधि सेवन नगर्ने, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ । गर्भवती महिलाले अनावश्यक एक्स्रे नगर्दा नै राम्रो हुन्छ ।
आँखाको रोग वंशाणुगत पनि हुन्छ । गर्भको बच्चाको आँखा समस्या भए/नभएको बारे परीक्षण गर्न मिल्ने व्यवस्था विधिलाई पनि हामीले अपनाउन सक्छौं । गर्भमा रहँदा नै आँखामा समस्या भए/नभएको पत्ता लगाउन सकेको खण्डमा समयमा प्रभावकारी उपचार हुन सक्छ । यदि ठूलै समस्या गर्भको बच्चामा देखिएको छ । जन्मेर पनि सामान्य बालबालिका जस्तो हुन नसक्ने अवस्थामा छ भने नेपाल सरकारले कानुनअनुसार गर्भपतन (अभर्सन)को व्यवस्था पनि गरेको छ । साँच्चै बालबालिकाको आँखा स्वस्थ राख्नका लागि बच्चा जन्मिसकेपछि पनि आमाले सन्तुलित आहार र स्तनपानमा ध्यान दिन सकेको खण्डमा आँखामा लाग्ने धेरै रोगहरुबाट बच्न सकिन्छ ।