काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले बुधवार काठमाडौं प्रहरी परिसर टेकुमा भएको घट्नाको घोर भर्त्सना गरेको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा प्रहरीको व्यवहार पञ्चायती शैलीको भएको जनाएको छ ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न पनि माग गरिएकोछ ।
विज्ञप्तिमा भनिएको छ ‘तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिने कानुन व्यावसायी भगवती पाण्डे (शीतल) लाई पक्राउ गर्न अदालतले आदेश जारी गरेपछि पनि प्रहरी प्रशासनले पक्राउ नगरेपछि पक्राउ गरियोस् भनी माग राख्दै मिति २०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकू, काठमाडौं घेराउ कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य दिलमाया मोक्तान (नेरुता) लगायत ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी चरम यातना दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ जनाएको छ ।
साथै प्रेस विज्ञप्तिमा ‘शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौँलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ । ’
साथै नेसपाले घाइतेहरूको उचित उपचारको माग गरेको छ ।
प्रेस वक्तव्य ।
तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिने कानुन व्यावसायी भगवती पाण्डे (शीतल) लाई पक्राउ गर्न अदालतले आदेस जारी गरेपछि पनि प्रहरी प्रशासनले पक्राउ नगरेपछि पक्राउ गरियोस् भनी माग राख्दै मिति २०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकू, काठमाडौँ घेराउ कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय दिलमाया मोक्तान (नेरुता), मञ्जु थापा मगरलगायत ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी चरम यातना दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको माग गर्दछौँ । पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइको माग गर्दछौं । साथै, प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानवीन गरी दोषीलाई कारबाही गर्न माग गर्दछौं ।
मिति : २०८०/४/१८
डा. बाबुराम भट्टराई
अध्यक्ष, नेपाल समाजवादी पार्टी ।