नुवाकोट । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले मुलुकको कायापलट गर्न आफ्नो पार्टी सक्षम रहेको जनविश्वास बढ्दै गएको बताउनुभएको छ ।
योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको गाउँपालिकास्तरीय भेला तथा सम्मेलनलाई शिवपुरी गाउँपालिका ५ शेराबगरमा सम्बोधन गर्नुहँदै उहाँले पछिल्लो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारले गरेको कामका कारण पुन: माओवादीमा जनताको आकर्षण बढ्न थालेको बताउनुभएको हो ।
'यदि चाहे भने यो मुलुकको कायापलट गर्ने नेकपा माओवादी केन्द्र नै रहेछ भन्ने अरु पार्टीलाई भन्दा हाम्रो पार्टीलाई आमनेपाली जनताले हिजो जसरी २०६४ सालमा नेकपा माओवादीप्रति जुन आशा थियो, आकर्षण थियो । त्यही हिसाबले नेकपा माओवादी केन्द्रलाई केन्द्रविन्दुमा राखेर आम शोषित, पीडित जनसमुदायहरु गोलबन्ध भएका थिए,' उहाँले भन्नुभयो, 'अबका दिनमा पनि त्यही खालका संकेत सिर्जना हुने स्थिति छ ।'
सांसद तामाङले अगाडि भन्नुभयो, 'हाम्रा पार्टी अध्यक्ष प्रचण्डज्यूले सरकारको नेतृत्व सम्हाल्नुभएपछि सुशासन, समृद्धि र विकासका निम्ति जुन खालको संकल्प व्यक्त गर्नुभएको थियो । नीतिगत हिसाबले त्यसलाई व्यवहारिक हिसाबले लागू गर्दै गइसकेपछि हिजोका दिनमा राजनीतिक पार्टीकाहरु बारेमा र नेताहरु बारेमा जुन खालको भ्रम अन्योलता र अविश्वास पैदा गर्ने खालका काम भयो । अहिले त्यो हटेको छ । कुन अर्थमा भने नेकपा माओवादी केन्द्र अरु पार्टीजस्तो होइन रहेछ । त्यसका नेता कार्यकर्ता र त्यस पार्टीबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरु अरु पुराना भ्रष्टपार्टीहरु र तिनका नेता कार्कर्यता जस्त र प्रतिनिधिजस्ता रहेनछन् ।'
उहाँले वाईसीएल नेपाललाई संगठनको सम्मेलन र बैठकको सन्दर्भमा जिम्मेवारी इमानदारिपूर्वक वहन गर्न निर्देशन दिनुभयो । उहाँले पार्टी केन्द्रदेखि तलसम्म नीति र विधिअनुसार नचलेको उल्लेख गर्नुहुँदै पार्टी जसरी निर्माण हुनुपर्थ्यो त्यो नभएको बतानुभयो । अब पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न पनि उहाँ आह्वान गर्नुभयो ।