हामी भन्छौं महान् जनयुद्धले आँधी र तुफानहरुको सिर्जना गर्यो । दासतापूर्ण जीवनहरुबाट मुक्ति पाउनका लागि गरिएका संघर्षबीच जीवन त्याग अथवा मृत्युलाई पनि बलिदानको उपमा दिएर हजारौं अमूल्य मानव जीवनहरुले त्यो आन्दोलनमा समर्पित र समर्पण गरेकै हुन्। हामीले खोजेको मुक्ति र रोजेका बाटो हिजोका दिनहरुमा निकै सुन्दर र सुगम थिए ।
प्रिय कमान्डर,
इतिहास कायरहरुले लेखिँदैन, इतिहास त निडर,बहादुर र वीरहरुले लेखिन्छ रे । यो कुरा हामीले तपाईं कमान्डरबाटै बुझेका, सुनेका हुन् ।
यहीबीच समयले कोल्टे फेरेर पूर्वका क्षितिजमा सुनौलो घाम उदाउनुको सट्टा हिजोका लाल झुपडीहरुमा अन्याय र अभावका बादलहरु मडारिरहेका छन् । कयौं आमाहरुको काख त रित्तिए तर हामीले आशाका किरण पुर्याउन सकेनौं ।
आज अनायश र अनाहकमा हिजोका युद्धकै घाउ र पीडाहरुले तपाईंका सहयोद्धा तपाईंको विचारले डोर्याएर फुलाउनुभएका फूल अथवा त्यो जीवनहरु आज निकै कठिन र पीडादायक अवस्थाबाट गुर्जिरहेका छन् । किन, के कसरी कमान्डर तपाईंका मनमा नछोएका होलान् ??
हिजो उनले तपाईंका एक आदेशलाई मृत्युभन्दा प्यारो मानेका थिए!!
हिजो उनले उ आधा पेट खाएर भए पनि तपाईंलाई खुवाएका थिए!!
हिजो उनले अनिँदो सेन्ट्री र पहरामा रहेर बसेर तपाईंलाई गहिरो निद्रासँगै मिठो सपनासम्म पुर्याएका थिए!!
हिजो उनले तपाईंलाई बर्गबैरीहरुको छायाँहरु नपरुन् भनी आफ्नै छातीले छोपेर राखेका थिए!!
प्रिय कमान्डर,अनि आज ती राता मान्छेहरु गाँस,बाँस,कपास,स्वास्थ्य, शिक्षा र रोजगारबाट बन्चित र रोग बेथाहरुले ग्रसित छन् ।
उनको भोको पेटहरुले आहारा खोजेका छन्।।
उनको पीडित दुखी मनले ओत लाग्ने छानाहरु खोजेका छन्।।
उनका शरीरले पनि आङ ढाक्ने कपडाहरु खोजेका छन्।।
उनका युद्धले चर्केका घाउहरुले मलमपट्टी खोजेका छन्।।
उनका युद्धमा गुमेका खुट्टालाई एउटा बैसाखीकै भए पनि आशा र सहारा खोजेका छन्।।
उनका युद्धमा गुमेका आँखाले पनि सुन्दर संसारका महसुस गर्ने मनासय राखेका छन्।।
प्रिय कमान्डर,
तपाईंका जीतहरु तब हुनेछ कि तपाईंले विगतलाई सम्झेर वर्तमानमा यी समस्यालाई हल गर्नका लागि तपाईंका सहयोद्धा,सहकर्मी र सहपाठीहरुसँग हातेमालो गरी योजना निर्माण गर्नुस् । दु:खमा साथ दिनुस् । हात दिनुस् नत्र तपाईंलाई म कमान्डर हुँ भन्ने अधिकार र त्यो योग्यता हुने छैन ।
हिजो ठुला ठुला लडाइँका मोर्चाहरु तपाईंले जितेर आएका होलान्,हिजो तपाईंलाई अदम्य सहस,बहादुर र निडर कमान्डरको रूपमा चिनिएका वा चिनाएका होलान् । तर तपाईं आज जितेर पनि हारिएका छन् । जिउँदो भएर पनि मरिएका छन् !
बहादुर भएर पनि कायर भएका छन् !
हिजो भर्खर रोल्पाका चेली जनयुद्धका एक निडर र बहादुर महिला एक तहका कमान्डर पनि । क.शृङ्खलाको निधन भएको छ । उहाँलाई हृदयदेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द छु । यो एउटा दु:खद् क्षण हुन् । यस्ता घटना र अवस्थाहरु अभावै अभावहरुमा कयौं योद्धाहरुले गुजारेर जीवनको अन्तिम सासहरु फेरेका छन् । कयौं योद्धाहरुले खाडीका देशहरूमा पसिना बगाउँदै उतै अन्तिम सास फेर्दै बन्द बाकसहरुमा स्वदेश फर्किरहेका छन् ।
कसैले देखे जस्तो गर्लान् कसैले नदेखे जस्तो । कसैले पार्टीको झन्डा पायो कसैले पाएन होलान् । तर जीवनका अमूल्य समयहरु क्रान्तिका नाममा खर्चेर आज मनभरि पीडाका भारीहरु बोकेर यो परदेशको विरानो सहरका गल्लीहरुमा आफ्ना रहर र खुशीहरु खोजिरहेका धेरै मजस्ता युवाहरु भौंतारिरहेका छन्।
त्यसैले प्रिय कमान्डर, हामीलाई पनि आफ्नै देशमा, आफ्नै समाजमा, आफ्नै घरपरिवारमाझ बस्ने, हाँस्ने कयौं सपना र आशाहरू छन्। तपाईंहरु फुटेर होइन जुटेर देश बनाउने योजना बनाउनुस् । हिजोका सहिदका सपना र हाम्रा आशाहरु अझै बाँकी छन्। फेरि पनि हामी जोडिने छौं । हामी बदालिएर अरुलाई पनि बदल्ने कोसिस गर्नेछौं ।
हाल, मलेसिया