काठमाडौं । तामाङ भाषालाई यही फागुनसम्ममा गुगल अनुवादमा लैजान पहल गरिने भएको छ। तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन-तामाङले आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयासमा रहेका हुन्।
यसका लागि एक लाख वाक्य लक्षित गरिएकोमा काठमाडौं विश्विद्यालयको प्राविधिक टोलीले तयार गरेको वेबसाइट tmt.ilprl.ku.edu.np मा ५० हजार तामाङ शब्दहरुले प्रवेश पाइसकेको योन्जनले बताए। 'आउँदो फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवाद सेवामा प्रवेशको लागि पहल गरिने छ,' बिहीबार काठमाडौंको बौद्धस्थित तामाङ अध्ययन प्रतिष्ठानमा पत्रकार सम्मेलन आयोजना गरी संयोजक योन्जनले बताए। उक्त प्रणाली जनवरी महिनाभर समुदाय तहमा प्रतिक्रिया र सुझाव लिन खुला गरिएको छ।
सही अनुवादका लागि चारवटा अनुवाद मोडलहरू रहेको र यसमा सम्पादन गरी सुझाव दिनसमेत सकिने अनुवाद टोलीका सदस्य इन्द्र तामाङले बताउनुभयो । 'तामाङ अनुवाद उपयुक्त नलागेमा आ-आफ्ना प्रतिक्रिया र सुझावको लागि व्यवस्था गरिएको छ,' तामाङले भन्नुभयो। समुदाय तहको प्रतिक्रियापछि एउटा मोडललाई प्रशिक्षित गराइने र थप सुधारका लागि तामाङ भाषी केही गाउँपालिकाहरूमा पुगेर थप प्रतिक्रिया लिइने तयारी रहेको अनुवाद टोलीले जनायो। संयोजक तामाङ अनुवाद टोली ' गुगल रिसर्चको लागि 'गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना'को प्रारम्भिक उद्घाटन पुस ११ गते गरिएको थियो।
तामाङ-नेपाली - अङ्ग्रेजी भाषाहरू बिचको अन्तर- अनुवादको लागि यो परियोजना सक्रिय रहेको छ। प्राविधिक पक्षका लागि सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग, काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) का अध्यक्ष योन्जनबिच सहकार्यको लागि २०८२ साउन ४ गते (सन् २०२५ जुलाइ २०) मा हस्ताक्षर सम्पन्न भएपछि अनुवाद थालिएको थियो।
यो त्रैभाषिक मिसन अनुवाद मोडल तयारीमा काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुबेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य र त्रिभूवन विश्वविद्यालयका प्रा.डा. बलराम प्रसाई छन् भने अनुवाद टोलीमा संयोजक योन्जनसँगै, इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योन्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा सक्रिय छन्।
नेपालका १४ लाख बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुनेछ। हालसम्म नेपाली भाषाका अतिरिक्त दुइवटा मातृभाषा मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगलमा प्रवेश पाएका छन्।
तामाङ भाषा गुगलमा प्रवेशसँगै विश्वका जुनसुकै स्थानमा बसोबास गरिरहेका प्रयोक्तालाई (१) तामाङ-नेपाली (२) नेपाली-तामाङ (३) तामाङ-अङ्ग्रेजी (४) अङ्ग्रेजी-तामाङ अन्तरअनुवाद सम्भव हुनेछ। अनि दैनिकी र पर्यटनका साथसाथै शिक्षा, सञ्चार र सरकारी कामकाजमा गुगल अनुवादले सहयोग पुऱ्याउने र भविष्यमा अनुवाद सेवाका साथै सर्च, भ्वाइस सर्च, युट्युब सब-टाइटल आदिमा पनि यसको सेवा विस्तार हुन सक्नेछ संयोजन टोलीले जनाएको छ।