नेपालमा दैनिकजसो विभिन्न रोगका बिरामीहरु बढ्दै गइरहेको सरकारी/गैर सरकारी तथ्यांकअनुसार देखाएका छन् । मानिसलाई रोगी बनाउने मुख्य कारण भनेको खानपान नै हो । स्वस्थ रहन खाना स्वास्थ्यवर्दक, सफा हुनुपर्छ । तर हामीले खाँदै आएको खाने कुरा नै अस्वस्थकर भयो भने पक्कै रोगको सिकार बन्छौं । तपाईंलाई पत्याउन गाह्रो होला तर पछिल्लो समय धेरै नेपालीहरु आफूले खाएको खानाबाट आफै रोगी बन्दै आइरहेका छन् । खानेकुराले स्वास्थ्यका लागि फाइदा पुर्याउँछ कि पुर्याउँदैन भन्ने बारेमा भने कमैले मात्रै सोचेका हुन्छन् ।
गर्मी याममा अत्यधिक प्रयोग हुने चिसो पेयपदार्थ जुन हामी चिसोको समयमा पनि मज्जाले खाइरहेका हुन्छौं । तर वरिष्ठ पोषणविद् डा उमा कोइराला भने यस्तो खानपानले हड्डी खियाउनेदेखि क्यान्सरजस्ता धेरै सर्ने रोगहरुको सम्भावना हुने बताउनुहुन्छ । अझ उहाँ त नेपालमा पछिल्लो समय बिरामीको संख्या बढ्दै जानुमा यस्तै खानपान हो भन्नु हुन्छ । बाँकी जानकारी उहाँकै शब्दमा ।
.......
मादक पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा जगजाहेरै छ । तर पनि हामी खाइरहेका हुन्छौं ।
। साथै हामीले धेरै मात्रामा चिसो पेयपदार्थहरु पनि प्रयोग गर्दै आइरहेका छौं । मादक पदार्थमात्रै होइन चिसो पेय पदार्थ पनि मानव स्वास्थ्यका लागि धेरै हानिकारक छ । अझ चिसो खादा खानेकुरा पच्ने भ्रमका कारण पनि मासुसँग चिसो खाने चलन धेरै छ । विभिन्न अनुसान्धनले पनि मासुसँग सोडाजन्य पदार्थजस्तै कोक, फ्यान्टा हानिकारक छ भन्दै आइरहेको छ । रासायनिक असर शरीरमा पर्ने अथवा नकारात्मक असर पर्ने अनुसन्धानले देखाइरहेको छ । यस्ता सोडाजन्य चिसो पेय पदार्थ कसैले पनि नखादा राम्रो हुन्छ ।
चिसो पेय पदार्थमा हाम्रो हड्डीलाई खियाउने तत्व हुन्छ । हड्डीसम्बन्धी समस्याहरु बढ्दै जानुको मुख्य कारण पनि पेय पदार्थ हो । पेय पदार्थको रासायनिक असर विस्तारै परिरहेको हुन्छ हामीलाई थाहा हुन्न । विस्तारै हाड खिइँदै जान्छ र हाड खिएपछि फेरि बन्ने भनेको मुस्किल कुरा हो । बिग्रिन सजिलो छ, बन्न एकदमै गाह्रो हुन्छ । त्यसैले सोडाजन्य पदार्थ स्वास्थ्यको लागि लाभदायक होइन ।
चिसो पेय पदार्थ साना बालबालिकादेखि सबै उमेरका व्यक्तिहरुले धेरै मात्रामा प्रयोग गरेको पाइन्छ । संचारमाध्ययमा पनि प्रचारप्रसार धेरै हुँदा यस्ता कुरामा नागरिकको चासो बढेको पनि हुनसक्छ । तर हामी पोषणविद्हरु अथवा कुनै पनि स्वास्थ्यकर्मीले भन्नुपर्दा नै कोक, फ्यान्ट, डिउलगायतका सोडाजन्य चिसो पेय पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसबारे नागरिक आफै सचेत हुन जरुरी छ । तपाईंलाई खानेबित्तिकै असर नगर्ला तर विस्तारै–विस्तारै पक्कै रोगी बनाउने छ ।
पेय पदार्थमा चिनीको मात्रा पनि धेरै हुन्छ । जस्तै तपाईंले एक गिलास पेय पदार्थ लिनु भएको छ भने त्यसमा १० चम्चा जति चिनीको मात्रा हुन्छ । अब हामीले दिनमा कति खाँदै आइरहेका छौं तपाईं आफै अनुमान गर्नुस् । जति क्यालोरी लियो शरीरबाट त्यत्ति नै बाहिर निकाल्नु पर्दछ तर हामीले दिनमा १० देखि २० चम्चा चिनी बाहिर निकाल्न कहाँ सक्छौं । त्यसैले गर्दा हाम्रो शरीरमा नकारात्मक असर परिरहेको हुन्छ । जसले गर्दा बोसो जम्ने, मुटुलाई असर गर्ने, उच्च रक्तचाप, हाईपोटेन्सन, अचनाक हृदयघात हुने सम्भावना धेरै हुन्छ ।
पेय पदार्थले नसर्ने रोगहरु हुने सम्भावना धेरै हुन्छ । जस्तै क्यान्सर, उच्च रक्तचाप, मुटुमा, मिर्गौला, अल्सर, ग्यास्ट्रीक लगायतका जति पनि नसर्ने रोगहरु छन् यो हाम्रो गलत खानपानको अभ्यासले गर्दा हुने रोगहरु हो, त्यसैले नागरिकले यस्ता कुरामा धेरै ध्यान दिन जरुरी छ । हामीले खानेकुरामा धेरै सोच्नु पर्ने हुन्छ । कति खानाले स्वस्थ बनाउँछ भने कति खानाले हामीलाई अस्वस्थ पनि बनाउँछ ।