सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका ५३ महिला कृषकलाई नगद उपहार प्रदान गरिएको छ । 'सुधारिएको खोर निर्माणबापत उपहार प्रदान' कार्यक्रमअन्तर्गत मरिणको वडा नम्बर ३, ४, ६ र ७ का ५३ जना महिला दिदीबहिनीलाई नगद उपहार प्रदान गरिएको हेण्डस् नेपाल परियोजनाका प्राविधिक संयोजक धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उपहार पाउनेहरुमा मरिण गाउँपालिका वडा नम्बर ३ का १० जना, वडा ४ का १८ जना, वडा ६ का १६ जना र वडा ७ का ९ जना छन् । उनीहरु परियोजनाको विभिन्न समूहमा आबद्ध सदस्यहरू हुन् । नगद उपहार ‘क’, ‘ख’ र ‘ग’ वर्ग छुट्याइ वितरण गरिएको छ ।
'भोकालाई एक छाक भोजन हैन जिउने जुक्ति सिकाऔं' नाराका साथ मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उक्त परियोजना सञ्चालन गरिएको हो ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, सामाजिक शाखा तथा परियोजना फोकल व्यक्ति सुदीप केसी, मरिणका लघु उद्यमी शाखा प्रमुख पवन सुवेदी, परियोजना संयोजक मिनबहादुर राय लगायतको उपस्थिति थियो ।
उन्नत जातको कृषि तथा पशुपालन कार्यक्रम मरिण गाउँपालिकाका १४ सय घरपरिवारमा पुर्याउने लक्ष्य रहेको हेण्डस् नेपालका परियोजना प्राविधिक संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।