काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले बूढानीलकण्ठ नगरपालिका–११ लसुनटाङका आगलागी पीडित घरधनी टंक घिसिङलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने आश्वासन दिनुभएको छ । घरधनी घिसिङसँग बिहीबार भेट्दै नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका ईञ्चार्जसमेत रहनुभएका पन्तले क्षतिपूर्ति भराउन सरकारसँग पहल गर्ने बताउनुभएको हो ।
'वैदेशिक रोजगार व्यवसायी टंक घिसिङज्यूको १८ आनामा बनेको साढे ३ तलेघर र त्यसभित्र रहेका सुनचाँदीलगायत सामग्री अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा पूर्णरुपमा क्षति भएको छ, उहाँसँग हामीले भेट्यौं । हाम्रा पार्टीका पोलिटब्युरो सदस्य लक्ष्मण पन्तज्यूले सरकारी तबरबाट उहाँलाई क्षतिपूर्ति/सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ,' मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङले ग्लोबल मिडियासँग भन्नुभयो ।
नेपाल वैदेशिक रोजगार तामाङ समाजका निवर्तमान अध्यक्षसमेत रहनुभएका घिसिङलाई आर्थिक सहयोगसहित भेट्न ईञ्चार्ज पन्त, मञ्चका अध्यक्ष धनलाल जैसी र महासचिव डिम्दोङलगायत उहाँकै निवास कपन पुग्नुभएको थियो । मञ्चको तर्फबाट बिहीबार केही सहयोग गरिरहेको र अझै थप सहयोग संकलन भइरहेको महासचिव डिम्दोङले बताउनुभयो । यही असोज ५ गते बुधबार साँझ इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिन्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिन्डर विष्फोट हुँदा आगलागी भएको थियो ।
आगोमा जलेर घिसिङको घरको भुइँतलामा बस्ने ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको थियो भने घरमा पूर्ण क्षति पुगेको छ । उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते हुनुभएको थियो । घाइतेको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।
आगलागी प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा आगो निभाएका थिए । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
आगो निभाउन बौद्ध रामहिटी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्यांकरको प्रयोग गरिएको थियो ।