मैले फेसबुक पेजमा राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहुने स्वदेशी तथा विदेशी आगन्तुकहरुसँग कट्टु र चप्पल लगाएको फोटोहरु राख्दा कतिपय नेपालीहरुलाई असजिलो जस्तो महसुस भएको छ र कतिपयले सादा जीवन भनेर भन्नु भएको छ । मैले सादा जीवन देखाउनलाई कट्टु लगाएको पनि होइन र कट्टु र चप्पल लगाएर हिँड्डुल गर्दा मलाई असजिलो पनि लाग्दैन ।
नेपालमामात्र होइन अमेरिकामा युनिभर्सिटीमा पढ्दा पनि गर्मी महिनामा मैले प्राय:जसो कट्टु नै लगाउँदथे । अमेरिकामा पढ्दा कट्टु लगाएको फोटो पनि हेर्नुहोस् । एउटा फोटो हिजो ईजरायलको डेपुटी राजदूत आउँदाको हो । यो कथा पढेपछि साथीहरुले कट्टु र चप्पल लगायो भनेर कचकच नगर्नु होला ।
कट्टु लगाउने बानी मेरो बाल्यकालदेखिकै हो । मैले २१ वर्षको उमेरमामात्र पहिलोचोटी पाइन्ट लगाएको हो । बाल्यकालदेखि एस.एल.सी पढ्दा पनि कट्टु लगाएर पढेको हो । हाई स्कुलमा प्राय: जसो विद्यार्थीहर ले कट्टु लगाउने हुनाले पाइन्ट लगाउने भन्ने आवश्यकता नै महसुस भएन । २०२८ सालमा एस.एल.सी पास गरेर अमृत साईन्स कलेज काठमान्डूमा भर्ना हुँदा पनि कट्टु लगाएरै भर्ना भएको हो । अनि कलेज भर्ना भए पछि पाइन्ट लगाउने कि भनेर सोचेको पनि हो । तर पाइन्ट किन्न पनि निकै धेरै पैसा लाग्ने रहेछ र पाइन्ट किन्ने पर्याप्त पैसा कहिल्यै भएन । अनि कट्टु लगाएर २ बर्ष सम्म काठमान्डूमा कलेज पढियो । त्यसो गर्दा मलाई कुनै अप्ठ्यारो महसुस भएन । त्यति बेलाका अमृत साइन्स कलेजमा पढ्ने क्लासका साथीहरुले कट्टु लगाउने केटा भनेर चिन्दथे ।
अमृत साइन्स कलेजबाट आई.एस्सी अथवा १२ क्लास पास गरेपछि ईन्जिनियर बन्ने सपना पुरा भएन । अनि आर्थिक अवस्था कमजोर भएकोले मैले बि.एस्सी. पढ्न आँट गरिन किन भने काठमान्डूमा पढ्ने पैसा मेरो बाबासँग छैन भन्ने मलाई थाहा थियो । त्यति बेला १५० रुपैयाँ भयो भने एक महिनामा काठमान्डूमा डेरामा बसेर कलेज पढ्न जसोतसो पुग्दथ्यो ।
त्यसपछि म चितवन गएर २०३० साल भाद्र महिनादेखि दिब्यनगर हाई स्कुल चितवनमा कट्टु लगाएरै पढाउने शिक्षक भएँ । दिव्यनगरमा करिब एक वर्षजति पढाएपछि मलाई चितवनकै रत्ननगरको नेपाल हाई स्कूलमा सरुवा गरियो । त्यहाँ पनि दुई वर्ष जति त कट्टु लगाएरै पढाएको हो र सबैले कट्टु मास्टर भन्दथे । त्यसपछि सो हाई स्कूलको त्यति बेलाको हेडमास्टर दिनेश्वरप्रसाद श्रीवास्तब सरले म नमान्दा नमान्दै पनि आफैले कपडा किनेर टेलर मास्टरलाई बोलाई पाइन्ट सिलाएर मलाई लगाउन लगाए । श्रीबास्ताब सरसँगै म हाई स्कूल नजिकै एउटई डेरामा संगै बस्ने हुनाले मैले नकार्न पनि सकिनँ । सुरुका केही समय त पाइन्ट लगाएर हिंड्दा मलाई एकदमै अप्ठ्यारो लाग्दथ्यो तर बिस्तारै बिस्तारै पाइन्ट लगाउने बानी बसेको हो । महिना त बिर्सें तर मैले पहिलो चोटी पाइन्ट लगाएको साल चाहिँ २०३३ साल हो ।
यसरी कट्टु र चप्पल लगाएरै हुर्केकोहुनाले मलाई कट्टु लगाउन सजिलो लाग्छ । खासगरी गर्मी महिनामा त मलाई पाइन्ट र जुत्ता लगाउन मनै पर्दैन । त्यसैले आजभोली पनि कट्टु र चप्पल नै लगाएको हो ।