काठमाडौं । तामाङ गीत संगीत क्षेत्रमा अभिनय गर्दै आएकी मोडल तथा कलाकार सुशीला ग्लान तामाङको अल्पायुमै निधन भएको छ । जन्डिसको समस्याका कारण नेपाल मेडिकल हस्पिटलमा उपचारको क्रममा कलाकार ग्लानको शुक्रबार बिहान ५ बजेतिर निधन भएको हो । कडा खालको जन्डिसका कारण कलाकार सुशीला ग्लानको निधन भएको चिकित्सकलाई उद्धृत् गर्दै नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
काठमाडौंको शंकरापुर नगरपालिका १ नाङ्लेभारेमा २०५२ चैत १६ मा जन्मनुभएको थियो । नेपाल तामाङ कलाकार संघका सदस्य ग्लानको अभिनयमा दुप्चेश्वर मेला, टुङ्नाको धुन, तेमेमी व्हापा, ल्होछार मेला, डम्फुमा सेलो लगायत थुप्रै गीतहरु लोकप्रिय छन् ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले तामाङ गीतसंगीतमा उदाउँदै गरेको राम्रो प्रतिभाको रुपमा रहेकी सुशीला ग्लानको निधनप्रति दु:ख व्यक्त गर्दै आफू र कलाकार संघ स्तब्त भएको जनाउनुभयो । मृतकको शव अन्तिम संस्कारका लागि जम्बोडाँडा पुर्याइएको छ ।
यसैबीच नेपाल तामाङ कलाकार संघले सदस्य तथा मोडल तथा कलाकार सुशीला ग्लान तामाङको अल्पायुमै भएको असमायिक निधनले स्तब्ध भएको जनाएको छ ।
महासचिव रोशन फ्युवा तामाङले शुक्रबार विज्ञप्ति जारी गर्दै लामो समयदेखि तामाङ गीत संगीत क्षेत्रमा अभिनय गर्दै आएकी ग्लानको असमायिक निधन भएकोले स्तब्ध भएको जनाउनुभएको छ । 'उहाँको निधनले तामाङ सेलो गीत संगीत, क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । तामाङ गीत संगीत क्षेत्रले एक सकृय कलाकार गुमाएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाल तामाङ कलाकार संघ उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।'