काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो ।
युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता २–० को बन्यो ।
खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–० बनाए ।
पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५–० ले विजयी भयो ।
५८ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि मान्यता पाएन । भीएआरको सहायतामा गोल गर्नु अघि रोनाल्डो अफसाइड देखिएका थिए ।
यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।
केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन् । चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए । जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ । युनाईटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।