कञ्चनपुर । बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा ‘क्यान्सर’ भएपछि उपचारका लागि आर्थिक अभाव भएको छ । ससुरालीमा बस्दै आएका उहाँले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ ।
'जग्गा, घर केही छैन । मजदुरी गरेर जीविका चलाउँदै आएको छु,' उहाँले भन्नुभयो, 'जिब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा जानका लागि भने पनि अर्थाभावले पीडा सहेर बस्दै आएको छु ।'
उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा बिरामी उहाँ मर्नु र बाँच्नुको दोसाँधमा पुग्नुभएकाे छ । 'पहिला जिब्रो दुख्नेमात्रै गर्दथ्यो,' उहाँले भन्नुभयो, 'अहिले खाना मुखभित्र राख्नै गाह्रो हुन थालेको छ । पूरै मुख दुख्छ खाना खान पनि सक्ने अवस्था छैन ।विस्तारै बोले पनि मुख दुख्ने भएकाले बोल्नसमेत सक्दिनँ । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ ।'
उपचारका लागि सहयोग गरिदिनका लागि उहाँले आग्रह गर्नुभएको छ । भारतमा छँदा गुटखाको अम्मली भएको हुँदा त्यो छाड्न नसक्दा त्यसकै कारण जिब्रोमा क्यान्सर भएको उहाँ बताउनुहुन्छ । 'भारतमा रोजगारीका लागि आमाबुवासँगै जाँदा आमाबुवाले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बईमा ६ वर्षको उमेरदेखि होटलमा भाँडा माझ्ने काम गरेँ । त्यही होटलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो,' उहाँले भन्नुभयो, 'सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेट्टाउन सकिनँ । थातथलो कहाँ थियो, ठम्याउन सकिनँ ।'
'यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्न सक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरेँ, केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए,' बिरामी डगौराले निकै भावुक हुँदै भन्नुभयो, 'घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भनेर सोचिन् वा अरु केही । श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुन्ड्याएकी थिइन् । खुट्टा भुइँमा छोइदा जोगिइन् यो गत चैत महिनाको १७ गतेको घटना हो ।'
आमाबुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रूपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूर्ण जिन्दगी जिउनुपरेको उहाँ बताउनुहुन्छ । डगौराका दुई छोरी मावलीमा छन् । ससुरालीको समेत अर्थावस्था निकै दयनीय भएकाले उपचार खर्च माग्न सक्ने अवस्था नरहेको उहाँले दुःखेसो पोख्नुभयो ।
'मजदुरी गर्न सक्ने अवस्था छैन । एक्लैका लागि खाना खर्च जुटाउन सकिने अवस्था छैन । उपचार गराउने कुरा अब कल्पना पनि गर्न सक्दिनँ,' उहाँले भन्नुभयो, 'दुःख गरेपछि सुख देख्न सकिन्छ भन्थे तर मेरो जीवनमा दुःखैदुःख रहेछ । उपचार नपाएर मर्नुबाहेक अब मेरा लागि अर्को विकल्प छैन ।'